मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण सुरु
मुस्ताङ । यहाँको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरूप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रु ३० लाखमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको बारागुङ–२ छेङ्गुर गाउँ माथिको पाखोमा मैदान निर्माण सुरु भएको उहाँले बताउनुभयो ।
उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताउनुभयो । “अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगन लगायत काम बाँकी छन्”, उहाँले भन्नुभयो ।
स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधा सम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तर्राष्ट्रिय ट्रेनिङ सेन्टर निर्माण गर्ने लक्ष्यअनुरूप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णता दिनुपर्ने उहाँको भनाइ छ ।
प्रदेश सरकारले यहाँ ट्रेनिङ सेन्टर निर्माणका लागि ५७० रोपनी जग्गा आफ्नो नाममा ल्याउने योजना बनाएको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी अञ्जना शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्