मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो
तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो ।

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रे भने सम्पन्न भइसकेको छ । कालोपत्रे बाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो । विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
प्रतिक्रिया राख्नुहोस्