बाढी बजारमा पस्दा पाँच घरमा क्षति , दुई दर्जनभन्दा बढी घर जोखिममा

सल्यान । मङ्गलवार राति परेको वर्षातपछिको बाढी बजारमा पस्दा सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगर बजार र रेशमज्युलाका ५ घरमा क्षति पुगेको छ ।
श्रीनगरको अधेरी खोलामा आएको बाढी घर पस्दा ४५ वर्षीय सागरराज पाण्डेको कान्तिपुर सामुदायिक अस्पताल, ६५ वर्षीय डिल्लीबहादुर हमाल, ६७ वर्षीय सोवि चलाउने र ६० वर्षीय रेशम श्रेष्ठको घरमा र ३३ वर्षीया सङ्गीता डाँगीको किराना पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै बाढीले शारदा नगरपालिका–१२ स्थित रशेमज्युलामा रहेको अटो भिलेजमा समेत क्षति गरेको छ । बाढीले रा १ ज ५२८ नम्बरको बोलेरो जिप आधा पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । रशेम खोलाका किनारमा अटो भिलेज भएकाले क्षति पुगेको उहाँको भनाई छ । खोलामा आएको बाढीले बगाई ल्याएको लेदो, माटो, ढुङ्गाले वर्कसपको आधा भाग पुरिदिएको छ ।
शम खोलामा आएको बाढीले कटान गर्दा अटो भिलेज, बन्दै गरेको सार्वजनिक शौचालय सहित दुई दर्जन बढी घर जोखिममा परेको शारदा नगरपालिका–१२ का वडाध्यक्ष सुरेन्द्र बुढाले बताउनुभयो । खोलाको निकासका लागि वाल तथा जाली हान्ने काम भइरहेता पनि बाढी ठूलो आउँदा क्षति बढी भएको उहाँको भनाई छ ।

गएराती आएको बाढीले घरको आँगनसम्म कटान गरेको स्थानीय अस्मिता बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको आँगन नै राति आएको बाढीले कटान गरेर लगेको छ । राती सुत्न पनि डर लाग्ने भइसक्यो । अनधिकृत रुपमा खोलाको बालुवा गिट्टी ढुङ्गा निकाल्दा बाढीको जोखिम बढेको उहाँको भनाई छ । यस्तै बाढीले निम बहादुर बुढाथोकी र भीम बहादुर बुढाथोकीले खेत समेत कटान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्