तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक बिहीबार तीन बजे सम्मका लागि स्थगित 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि भोली दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ । 

सभाको बैठक शुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजी र अवरोध गर्नुभएको थियो । 

प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सदन दुई हप्तादेखी अवरुद्ध भइरहँदा छलफल र सभा सञ्चालन गर्न कठिन भइरहेको भन्दै सभा सञ्चालनका लागि वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।

पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले आजको कार्यसूचीबाट सम्पूर्ण कार्यक्रम हटाइएको र बैठक भोली दिउसो ३ः०० बजेसम्मका लागि स्थगित गरिएको बताउनुभयो ।

यसअघि आज दिउसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि सवा तीन बजेका लागि सारिएको थियो । 

संसद्को अवरोध खुलाउने विषयमा आज सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको बैठक बसेपनि सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको छ ।

यसअघि प्रतिपक्षी दलहरूको अलग्गै बैठक बसेर भिजिट भिसा प्रकरणका विषयमा रास्वपाले राखेको पाँच बुँदे प्रस्तावका विषयमा छलफल गरेका थिए । 

यसैबीच, सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएपनि सहमति भने हुन सकेन ।   

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइरहेका छन् ।

सत्तारूढ दलहरू भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको विषयमा गृहमन्त्री लेखकको राजीनामा दिन नपर्ने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button