तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक बस्न सकेन

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको आज दिउसो १ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन ।

सत्तापक्ष र प्रतिपक्षी दलहरू सहमतिमा पुग्न नसक्दा आजपनि प्रतिनिधिसभा बैठक सञ्चालन अन्योलमा परेको छ ।

संसद्को अवरोध खुलाउने विषयमा आज सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको बैठक बसेपनि सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको छ ।

यसअघि प्रतिपक्षी दलहरूको अलग्गै बैठक बसेर भिजिट भिसा प्रकरणका विषयमा रास्वपाले राखेको पाँच बुँदे प्रस्तावका विषयमा छलफल गरेका थिए । 

यसैबीच, सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भइरहेको छ ।  

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइरहेका छन् ।

सत्तारूढ दलहरू भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको विषयमा गृहमन्त्री लेखकको राजीनामा दिन नपर्ने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् । 

भिजिट भिसा प्रकरणलाई लिएर यही जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button