डोल्पामा विपद्बाट २९ सय नागरिक विस्थापित हुने पूर्वानुमान
'क्षति न्युनीकरणका लागि डेमो प्रदर्शन '
डोल्पा । यस वर्षको मनसुन सुरु हुन नपाउँदै डोल्पा जिल्लामा बाढी/पहिरोबाट २९ सय नागरिक विस्थापित हुने प्रारम्भिक अनुमान जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।

विगतका वर्षहरूका घटनाबाट पाठ सिक्दै तयार गरिएको यो पूर्वानुमान डाटाले सम्भाव्य जोखिमको चेतावनी दिएको छ । आउन सक्ने विपद्लाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय डोल्पा तथा जिल्ला विपद् व्यवस्थापन समिति डोल्पाले नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीको तिनै सुरक्षा निकायाको सक्रियतामा डोल्पाको मेहेलसरामा विपद् प्रतिकार्य लक्षित गर्दै उद्धार कसरी गर्ने भन्ने बारे डेमो प्रस्तुत गरिएको छ ।

विपद् प्रतिकार्य कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले डोल्पामा हुन सक्ने विपद् प्रतिकार्यको पुर्ब तयारी र २९ सय डोल्पाली नगरिकहरुको सुरक्षा र सतर्कताको लागि पनि कार्यक्रम गरिएको बताउनु भयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोमबहादुर महतका अनुसार, “अघिल्लो वर्षका तथ्याङ्क र असरको समीक्षा गरेर यस वर्षको सम्भावित क्षतिलाई न्यूनीकरण गर्न जिल्लाका तिनै तहका सुरक्षा कर्मीहरूको संयुक्त डेमो प्रदर्शन गरिएको हो । विपद् व्यवस्थापन एक पूर्व तयारीको विषय हो, तर जनप्रतिनिधिको सहभागिताको अभाव अझै पनि चुनौतीको रुपमा देखिएको छ।” प्रजिअ महत को भनाई रहेको छ ।

विपद् व्यवस्थापनमा आवश्यक समन्वय, शान्ति सुरक्षा तथा आकस्मिक उद्धार रणनीतिहरूको तयारीका लागि जिल्ला सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनाइएको छ। यसै सन्दर्भमा जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीका प्रमुखहरूको उपस्थितिमा विपद् प्रतिकार्य कार्यक्रम र बैठक समेत भएको छ ।
प्रतिक्रिया राख्नुहोस्