नियमित शुद्ध पानी उपलब्ध गराउन सरकार प्रतिबद्ध : मन्त्री यादव
विराटनगर । खानेपानी मन्त्री प्रदीपकुमार यादवले,आम नागरिकलाई नियमित रुपमा शुद्ध तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहको बताउनुभएको छ ।

विराटनगर–१४ स्थित जतुवा खानेपानी सरसफाई आयोजना हस्तान्तरण कार्यक्रमलाई आज संवोधन गर्नुहुँदै उहाँले नेपाल सरकारले यसै वर्ष भित्र ५७ प्रतिशत नागरिकमा शुद्ध तथा १ सय प्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्याउने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो ।

मुलुक सङ्घीय संरचनामा गए अनुसार नेपाल सरकारले एक घर एक धारा जडान अभियान शुरु गरेको बताउँदै बजेट र पैसाको अभावमा अव कुनै पनि योजना नरोकिने बताउनुभयो । अहिले पनि नागरिकलाई खानेपानी उपलब्ध गराउने कतिपय स्थानीय तहले चापाकल जडान गदै आएको त्यस्तो चापाकल वाट प्रयोग हुने पानीमा आर्र्सनिकको मात्रा देखिएको र त्यो स्वास्थ्यका लागि गम्भीर हानिकारक भएकाले नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन डिप टुवेल जडान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री यादवले कोशी प्रदेशमा निर्माणाधीन अवस्थामा रहेको तथा निर्माण भएका खानेपानीको ओभर हेड टङ्की प्रयोग विहीन अवस्थामा रहेकाले आगामी एकवर्ष भित्र त्यस्ता सबै ओभर हेड टङ्की सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी , सिचाई तथा उर्जामन्त्री एकराज कार्कीले, आवश्यकता भन्दा पनि पहुँचको आधारमा विकास निमार्णका योजनाहरू बन्ने गरेकाले त्यस्ता विकास निमार्णका योजनाहरू प्रभावकारी नहुने र त्यसले पूर्णता नपाउने बताउनुभयो ।

कोशी प्रदेश प्रदेशसभा सदस्य अमृत अर्याल तथा गितारानी महत्तले अधुरा रहेको खानेपानी योजनाहरू चाडै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशका पुर्वमन्त्री जयराम यादवले, हस्तान्तरणमा आएको जतुवामा खानेपानी योजनालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम जतुवा खानेपानी आयोजना उपभोक्ता समूहका अध्यक्ष विरेन्द्र यादवले खानेपानी आयोजना सञ्चालनमा जोड दिनुभयो । उक्त अवसरमा सो आयोजना एक कार्यक्रमका बिच नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ । स्थानीय उपभोक्ता समूहद्वारा २०६५ सालमा निमार्ण शुरु भएको सो खानेपानी आयोजना अहिले सम्म पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपछि नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको हो । अबको एकवर्ष भित्र सो आयोजना पूर्ण रुपमा सञ्चालनमा आउने सो आयोजनाले दीनकै १७ लाख लिटर पानी उत्पादन गर्ने तथा सो वार्ड सहित आसपासका वडाका ६ हजार बढी जनशख्यालाई खानेपानी पुर्याउने र ५ हजार घर धुरीमा थप नयाँ धारा जडान गर्ने मन्त्री यादवले सो अवसरमा जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्