तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् ।

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्य अभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिनुभयो ।

“विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोबार पनि रोक्का गरिएको छ”, उहाँले भन्नुभयो । आन्तरिक राजस्व विभागले छ महिनादेखि लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका करदातालाई निलम्बन गर्दै आएको छ ।

बाँकेमा आठ हजारभन्दा बढी मूल्य अभिवृद्धिमा आबद्ध करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले  यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट गर्नुभयो । “निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नहुँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ”, उहाँले भन्नुभयो । यसअघि विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो । यस्ता करदाताको कर कट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button