तपाईँ सुन्दै हुनुहुन्छः

उहियाको अक्करे भीर फोडेर सेनाद्वारा सडक निर्माण

गोरखा। हेर्दै डरलाग्दो दोभान पारिको उहिया स्थित तातोपानीको अक्करे भीर फुटाएर नेपाली सेनाले सडक निर्माण गरेको छ। जेठ ११ गतेदेखि सुरु गरिएको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको सेनाका नायक राजन पाठकले जानकारी दिनुभयो।

नेपाली सेनाले ब्लास्टिङ (विस्फोट) प्रविधिको प्रयोग गरी उक्त भीर फोडेर सडक निर्माण गरिरहेको हो। असार दोस्रो हप्तासम्म निर्माण कार्य सक्ने लक्ष्य राखिएको भए पनि असारको पहिलो हप्तामै सवारी सञ्चालन हुने गरी काम तीव्र पारिएको पाठकले बताउनुभयो।

सडक अवरुद्ध हुँदा यस मार्ग हुँदै चुमनुब्री, लार्के र चुम भ्याली जाने यात्रुहरूलाई लामो घुमाउरो बाटो प्रयोग गर्नु परेको थियो।

धार्चे गाउँपालिका–३ मा पर्ने यो सडक निर्माण कार्य नेपाली सेनाले गरिरहेको हो। निर्माण कार्य छिटो सक्न स्थानीय तहबाट पनि निरन्तर समन्वय भइरहेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो।

सेनाका अनुसार झण्डै ३२ लाख रुपैयाँको लागतमा पहरो फोड्ने काम सम्पन्न भएको छ। ब्लास्टिङ गरिएका भागहरूमा ढुङ्गा मिलाएर सम्म्याएपछि सडक सवारी सञ्चालन योग्य हुने र छिट्टै खुला गरिने नायक पाठकले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button