तपाईँ सुन्दै हुनुहुन्छः

‘राससको तस्बिर प्रदर्शनीबाट नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छ’

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राससको तस्बिर प्रदर्शनीले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्ने बताउनुभएको छ । 

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि अध्यक्ष डा भट्टराईले संसारकै उच्च हिमशृङ्खला र साहसिक गन्तव्यको संयोजनले नेपालको गन्तव्य प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । अध्यक्ष डा भट्टराईले तस्बिर प्रदर्शनीले नेपालीहरू स्वयम्लाई नेपाल बुझ्न र घुम्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । 

अहिले नेपालमा सबैथोक भए पनि यसलाई आधुनिक ज्ञान, विज्ञान र प्रविधिको प्रयोगले जीवन उपयोगी वस्तु तथा  सेवामा परिणत गर्न नसक्दा युवामा निराशा उत्पन्न भएको अध्यक्ष डा भट्टराईले उल्लेख गर्नुभयो । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालका अमूल्य निधि हिमाल तथा पर्यटकीय गन्तव्यको  प्रवर्द्धन गरेर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button