विश्व अन्धकार भएको बेलामा नेपाल ज्ञान विज्ञानको केन्द्र : प्रधानमन्त्री ओली
जनकपुरधाम । प्रधानमन्त्री एवं राजर्षि जनक विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व अन्धकारमा भएका वेलामा नेपाल ज्ञान तथा अध्यात्मको केन्द्र भएको बताउनुभएको छ ।

राजर्षि जनक विश्व विद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले राजर्षि जनकको नाउँमा स्थापित विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरू विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वीय दर्शन ज्ञान, विज्ञानको अथाह भण्डार भएको बताउँदै पश्चिमा साहित्य तथा विश्व विद्यालयहरू हाम्रोमा भन्दा करिब १८ सय वर्षपछि मात्र स्थापना भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले छोटो अवधिमा राजर्षि जनक विश्वविद्यालयले विश्वमा प्रतिस्पर्धा गर्ने दक्ष नागरिक उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै ऐतिहासिक पुरुषको नाउँमा स्थापित भएको विश्व विद्यालयका विद्यार्थीहरू समृद्ध नेपाल तथा खुशी नेपालीको सपना साकार पार्ने काममा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका जिल्लाहरूमा निरक्षता दर पछिल्लो केही जनगणना यता बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै विश्वविद्यालयबाट दीक्षित हुनुभएका विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
उहाँले मधेश प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयमा विश्वविद्यालय अनुदान आयोगबाट अन्य विश्वविद्यालय जस्तै अनुदान दिनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले विश्व विद्यालयबाट दीक्षित भएका विद्यार्थीहरूले समाज परिवर्तनका लागि काम गर्ने आशा व्यक्त गर्नुभयो ।
विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. अमर प्रसाद यादवले विश्व विद्यालयले विश्वमा प्रतिस्पर्धा गर्ने किसिमको जनशक्ति उत्पादन गरेको बताउँदै अहिले देशका सम्बन्धन प्राप्त तथा आङ्गिक कजेज मार्फत करिब २ हजार ८ सय विद्यार्थीहरूलाई विभिन्न विषयमा अध्ययन अध्यापन गराइरहेको बताउनुभयो ।
राजर्षि जनक विश्व विद्यालयको स्वास्थ्य विज्ञान सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ सङ्काय र मानविकी कानून संकायका गरेर १ सय १४ जना स्नातक तथा स्नातकोत्तर उतीर्णमध्ये ८६ विद्यार्थीहरू सो अवसरमा दीक्षित हुनुभयो ।
त्यसअघि आजै प्रधानमन्त्री एवं राजर्षि जनक विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्व विद्यालय सिनेटको बैठक सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्