नागरिकता विधेयक आएपछि आमाको नामबाट नागरिकता प्राप्त गर्न सहज हुन्छ: गृहमन्त्री लेखक
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफललाई तीव्रता दिएको छ ।

विधेयकमाथिको छलफलका लागि आज बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी रुपमा बसोबास गरेका र बाबुको ठेगान नभएकाहरूले नागरिकता प्राप्त गर्ने, विषयलाई विधेयकले सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्तको नागरिकता प्राप्त गरेका छैनन् भने अङ्गीकृत नागरिकता प्राप्त गर्ने, जन्मका आधारमा नागरिकता लिएका आमा र बाबु दुवै भएमा वंशज र आमा वा बाबु मध्ये एक जनामात्रै रहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्ने समेत स्पष्ट पार्नुभयो ।
उहाँले गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकता र ब्रिटिस गोर्खा सैनिकका सन्तानले नागरिकता प्राप्त गर्ने विषय यो विधेयकमा नसमेटिएको पनि बताउनुभयो ।
उहाँले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहजीकरण गर्न नेपाल नागरिकता ऐन २०६३ मा रहेको व्यवस्थामा एउटा उपदफा थप गरी ६ वटा दफा मात्रै संशोधन गर्न लागिएको भन्दै विषयमा केन्द्रित भएर विधेयक छिटो टुङ्गो लगाउन आग्रह पनि गर्नुभयो ।
छलफलमा सांसदहरुले बाबुको नामबाट नागरिकता लिएजस्तै सहज रुपमा आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्नुपर्ने, गैर नेपालीले नागरिकता नपाओस् भन्नेमा सजग बन्नुपर्ने, गैर नेपालीलाई नागरिकता दिनेलाई दण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
विधेयकमा १६ वर्ष उमेर पुरा नभएको बाबु वा आमा मध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र उपलब्ध गराउने व्यवस्था पनि समेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्