अस्थायी टहरामा ट्राफिक प्रहरी, सुरक्षा र सेवामा बाधा

रुकुम पूर्व । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पूर्वमा आफ्नै भवन नहुँदा सेवा प्रवाह मात्र होइन, ट्राफिक प्रहरीहरूको बसोबाससमेत निकै कष्टकर बनेको छ।
हाल सिस्ने गाउँपालिका–५ को मैदान जाने बाटो छेउको डाँडामा जस्तापाताको अस्थायी टहराबाट कार्यालय सञ्चालन भइरहेको छ। कमजोर संरचनाले नियमित सेवा प्रभावकारी रूपमा दिन नसकेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मधु थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार, “काम गर्ने ठाउँ छैन, सेवा लिन आउनेलाई बस्ने ठाउँ छैन। प्रहरीहरू खाना खाँदा वा सुतिरहँदा हावाहुरीले टहरा उडाउने हो कि भन्ने डर हुन्छ। रातमा छानाबाट तारा देखिन्छ।”
पछिल्ला वर्षहरूमा रुकुम पूर्वमा मोटरसाइकल, अटो, जीप, बस, ट्र्याक्टर जस्ता सवारी साधनको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। तर संरचना, जनशक्ति र उपकरणको अभावमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वका अध्यक्ष बसन्त बाँठा मगरले बताउनुभयो।
विशेषगरी छिप्रिदह बजार क्षेत्रमा ट्राफिक प्रहरीको न्यून उपस्थिति, अव्यवस्थित पार्किङ र चापका कारण दैनिक जनजीवन अस्तव्यस्त भएको उहाँको भनाइ छ।
स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले समयमै समन्वय नगर्दा समस्या दीर्घकालीन बनेको नागरिकहरूको गुनासो छ। सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले समन्वय गरी पूर्वाधार निर्माण गर्नुपर्ने माग नागरिक समाजबाट उठिरहेको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षमै ट्राफिक प्रहरी संरचना निर्माणका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार प्राविधिक मूल्यांकन भइसकेको छ र स्रोत सुनिश्चित भएपछि काम सुरु हुनेछ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि ढिलाइ भए पनि प्रक्रिया अघि बढाउने तयारी भइरहेको र गाउँपालिका यस विषयमा गम्भीर रहेको बताउनुभयो।
रुकुम पूर्वमा ट्राफिक प्रहरी कार्यालयको स्थायी संरचना नहुनु प्रहरी मात्र होइन, नागरिक सेवा, सवारी सुरक्षा र दैनिक जनजीवनसँग जोडिएको गम्भीर समस्या हो। आश्वासन व्यवहारमा नपुग्दासम्म यो चुनौती हरेक वर्षको कार्यसूचीमै सीमित हुने देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्