तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट चार्जिङ स्टेशन सञ्चालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । नेपाली बजारमा बिद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने कम्पनी ‘निक’ ले चिनिया कम्पनी हुवावेसँगको सहकार्यमा स्थापना गरेको स्टेशन आजबाट सञ्चालनमा आएको हो । 

सुपरफाष्ट चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री लामाले वातावरण संरक्षण र स्वदेशी विद्युत् प्रयोगका लागि यस्तो प्रविधि आवश्यक भएको बताउनुभयो । प्रविधिको विस्तारसँगै रोजगारी र आर्थिक स्रोत देशमै रहन सक्ने उल्लेख गर्नुहुँदै उहाँले यसलाई प्रदेशभर विस्तार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हरित हेटौँडाको अवधारणा कार्यान्वयनमा चार्जिङ स्टेशनले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

चार सय किलोवाट क्षमताको उक्त सुपरफास्ट विद्युतीय सवारी चार्जिङ स्टेशनबाट ५ देखि १५ मिनेटमै गाडी फुल चार्ज गर्न सकिने स्टेशनका प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिनुभयो । पाँच वटा प्वाइन्टसहित सञ्चालनमा आएको स्टेशनमा सौर्य ऊर्जाबाट पनि विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको छ । कार्यक्रममा निकका प्रबन्ध निर्देशक कुशकुमार जोशी, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, हुवावे नेपाल प्रमुख जेम्स, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोदसिंह रानाभाट लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button