बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको निर्देशन
तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिनुभएको छ।
झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै मन्त्री खड्काले समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औँल्याउनुभयो।
गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो। सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ।

“ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट — जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो। उहाँले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
विपद् पुनर्निर्माण योजनाअन्तर्गत अघि बढाइएको तटबन्ध निर्माण कार्यको स्थलगत प्रगति विवरण दिँदै ‘जनताको तटबन्ध कार्यक्रम गैँडे, झापा’ का प्रमुख इन्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो।

विद्युत् सेवा चुस्त बनाउन निर्देशन
यात्रा क्रमकै क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण विर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही नगर्न निर्देशन दिनुभयो।
“जनतालाई अवरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो”, मन्त्री खड्काले भन्नुभयो, “लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुने गरी प्रणाली विकास गर्न आवश्यक छ।”
उहाँले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गर्न सकिने सङ्केत पनि गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्