वीरगंजमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भीर घाइते

वीरगंज । वीरगंजको बाइपास सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आज अपराह्न गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास भट्टले जनाकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि गण्डकस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो । अस्पताल पुर्याइएका मध्ये घाइते ३० वर्षीय भारत, बेतिया निवासी बिटु सर्राफलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी ४० वर्षीय गणेश सर्राफ सोही स्थानका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय रामबाबु सर्राफ रहेका छन् ।घाइते तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट दुर्घटनाग्रस्त कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्