तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्ष बजारमा १३ लाख टन रासायनिक मल आवश्यक

काठमाडौँ । किसानहरूले यस वर्ष पनि आवश्यकता अनुसार पर्याप्त रासायनिक मल नपाउने भएका छन् । 

राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले यस वर्ष बजारमा १३ लाख टन रासायनिक मल आवश्यकता रहेको तर सरकारले उपलब्ध साँढे चार खाल टन मात्रै मल उपलब्ध गराएको जानकारी दिनुभयो । 

मन्त्री अधिकारीले सरकारसँग भएको साँढे चार लाख टन रासायनिक मल प्रदेश सरकारमार्फत सबै स्थानीय तहमा वितरण गरिएको बताउनुभयो । 

बजेट अभावका कारण पर्याप्त रासायनिक मल आयात गर्न नसकिएको कृषि मन्त्री अधिकारीले बताउनुभयो । 

विगतको तुलनामा प्राङ्गारिक मल प्रयोगलाई प्राथमिकता दिएको जानकारी दिँदै मन्त्री अधिकारीले पूर्ण रूपमा खाद्य स्वच्छतामा पुग्न भने केही समय लाग्ने बताउनुभयो । 

विगत पाँच वर्षमा ७ अर्ब रुपैयाँ कृषि अनुदानमा वितरण भएको बारे अध्ययन भइरहेको र आगामी आर्थिक वर्षदेखि समीक्षा गरेर मात्रै कृषि अनुदान दिइने बताउनुभयो । 

बैठकमा सांसदहरूले कृषकहरूलाई सरकारले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, कृषि उत्पादनको सहज बजार व्यवस्थापनका साथै सिँचाइमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरूले सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्ने र जमिन बाँझो नराख्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button