तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक : मन्त्री गुरुङ

मोरङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताउनुभएको छ ।

हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक अन्तरक्रियामा उहाँले राणा शासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ ।” उहाँले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझाव समेत दिनुभयो । उहाँले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्ने समेत उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै  द्रुत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । मन्त्री गुरुङले इकमर्शका माध्यमबाट जनतालाई सेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई विविधीकरण गरी व्यवसायीकरण गर्नु जरुरी रहेको धारणा राख्नुभयो । उहाँले हुलाक सेवाको पुनः संरचना आवश्यक भएको बताउनुभयो । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हुलाक सेवालाई नयाँ उचाइमा पुर्‍याउनु आवश्यक भएको बताउँदै यसलाई व्यवसायीकरण गरी आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । 

विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्मर राईलगायतले हुलाक सेवालाई भरपर्दो र विश्वसनीय र व्यापारमा विविधीकरण गर्न पुनः संरचना जरुरी रहेको सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेशका विभिन्न हुलाक कार्यालय, विभिन्न सङ्गठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button