तपाईँ सुन्दै हुनुहुन्छः

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

विश्व वातावरण दिवसका सन्दर्भमा मारवाडी युवा मञ्चद्वारा ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’नाराका साथ आज यहाँ आयोजित साइकल र्‍यालीको उद्घाटन गर्दै उहाँले लामो समयसम्म हुने जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीबाट जोगिन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो । 

व्यक्तिगत एवं सामूहिक रूपमा धुवाँ उत्पादन गर्ने इन्धनरहित हरित सवारी साधन प्रयोग गर्नुपर्ने तथा स्वच्छ ऊर्जाको उपयोग बढाएर हरित संसार निर्माणको परिकल्पनालाई साकार गर्न सकिने विचार मन्त्री यादवले व्यक्त गर्नुभयो । 

सरकारले वातावरणमैत्री यातायातको प्रवद्र्धनका निम्ति नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै उहाँले विद्यालय, कार्यालय, तथा स्थानीय तहसमेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ भन्नभयो । वातावरण संरक्षण तथा प्रदूषणमुक्त समाज बनाउन मारवाडी सेवा समाजले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिवर्तनका कारण उत्पन्न  चुनौतीको सामूहिक रूपमा सामना गर्न आवश्यक छ ।”

मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले सहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button