तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारग्रामको सेवा प्रभावकारी बनाउन मन्त्री गुरुङको निर्देशन

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको सूचनाको हक सुनिश्चित हुने गरी सञ्चारग्रामको प्रसारण सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

विराटनगरस्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको निरीक्षण तथा अनुगमनपश्चात आज आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले जनतालाई केन्द्रमा राखी उनीहरूको समस्या तत्काल सम्बोधन हुने खालका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिनुभयो।

उहाँले हिमाल, पहाड र तराईका कुनै पनि नेपाली नागरिक सूचना प्रवाहबाट वञ्चित हुनु नहुने उल्लेख गर्दै, ट्रान्समिशन बिग्रनु वा अन्य कुनै कारणले रेडियो नेपालको प्रसारण सेवामा अवरोध आउन नहुने बताए। यस्ता समस्या आए तत्काल समाधान गर्नुपर्ने निर्देशन पनि उहाँले दिनुभयो।

मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन अब सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भइसकेको उल्लेख गर्दै, नेपाली जनताले प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह हुनुपर्ने बताए। सञ्चारग्रामको भवन तथा जग्गा हस्तान्तरण प्रक्रिया छिटो टुंग्याएर सार्वजनिक प्रसारण सेवाको पहुँचमा ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

उहाँका अनुसार सञ्चारग्रामको भवन संरचनामा केही समस्या देखिएको छ, जसलाई समाधान गरेर मात्र हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ। सञ्चारग्रामभित्र रहेका ई–लाइब्रेरी, संग्रहालय तथा रेकर्डिङ स्टुडियोहरूलाई व्यवस्थित बनाएर प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पनि उहाँले आग्रह गर्नुभयो।

मन्त्री गुरुङले निरीक्षणका क्रममा सुनसरी, धरानस्थित लामो समयदेखि बन्द रहेको रेडियो नेपालको प्रसारण केन्द्रको संरचना जिर्ण अवस्थामा रहेको देखिएको र त्यस्ता संरचनाको सहि सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चारग्रामको उद्देश्य अनुसार गुरु योजना तयार पारेर यसको पूर्ण सञ्चालनमा ध्यान केन्द्रित गरिने जानकारी दिनुभयो। उनले सञ्चारग्रामलाई आत्मनिर्भर बनाउन सक्षम तथा सबल संस्था बनाउने गरी कर्मचारीलाई सक्रियतापूर्वक काम गर्न आग्रह गरे। साथै, ई–लाइब्रेरी, संग्रहालय र म्युजिक स्टुडियोको प्रचार–प्रसार गर्दै सञ्चारग्रामको गतिविधि विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो।

सो अवसरमा सञ्चारग्रामका प्रमुख सूर्यनारायण लालकर्णले वर्तमान अवस्थाबारे जानकारी गराउनु भयो। कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालसहित कर्मचारीहरूसँग विशेष छलफल समेत गरिएको थियो।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त कार्यकारी अधिकृत विष्णुराम न्यौपानेले राम्रो काम गर्ने कर्मचारीहरूको मूल्यांकन, सुविधा र विकासप्रति संस्थाको गम्भीरता रहेको बताउँदै सबैलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button