तपाईँ सुन्दै हुनुहुन्छः

‘पिएसबीले स्थानीय भाषा, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने विषयवस्तुलाई प्राथमिकतामा राख्नुपर्छ’

इटहरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालले सरकारको ताबेदारभन्दा पनि जनताको आवाज बुलन्द बनाउने समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । 

इटहरीस्थित जनटिभी इटहरी च्यानलको आज निरीक्षण गर्नुहुँदै मन्त्री गुरुङले पिएसबीले स्थानीय भाषा, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने विषयवस्तुहरूलाई प्राथमिकतामा राख्नुपर्ने र आम नागरिकको आवाजलाई विशेष महत्व दिएर जनता केन्द्रित समाचार तथा कार्यक्रमको उत्पादन र प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो ।

पिएसबी नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले कर्मचारीहरूको वृत्ति विकासमा रहेका अवरोधहरूलाई हटाउने विषयमा निरन्तर लागिपरेको बताउनुभयो । 

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले देशकै अग्रणी दुई सञ्चार माध्यमहरू रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबीमा रूपान्तरण भएसँगै अब पिएसबीले उत्पादन र प्रसारण गर्ने कार्यक्रमहरू जनताप्रति जबाफदेही, पारदर्शी र यथार्थपरक हुनुपर्ने बताउनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले एनटिभी इटहरी च्यानलले कोशी र मधेश प्रदेशका भाषा संस्कृति र रितिरिवाजको प्रवद्र्धन र उजागर गर्ने विषयमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । 

एनटिभी इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले एनटिभी इटहरी च्यानलबाट उत्पादन तथा प्रसारण भइरहेका कार्यक्रमहरूको जानकारी गराउँदै टेलिभिजनबाट प्रसारण हुने समाचार तथा कार्यक्रमहरू जनता केन्द्रित बनाइएको बताउनुभयो । 

यसैबीच, सञ्चारमन्त्री गुरुङले धरान उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र छेउमा रहेको रेडियो नेपालको अनुगमन गर्नुभएको छ । 

सो अवसरमा उहाँले यसको संरक्षण गर्न र धरानबाट सबै नसार्न आग्रह गर्नुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले धरानमा २०४६ सालदेखि सञ्चालनमा रहेको रेडियो नेपालको भवनमा १ सय मेगावाटको पूर्वाञ्चल भरिको लागि टावर राखी रेडियो सञ्चालन गर्दै आएपनि विराटनगरमा अफिस सारेपछि यहाँ रहेको सामग्रीहरु सबै बन्द गरिएको बताउनुभयो । 

उहाँले हाल डिजिटल प्रविधिले गर्दा पुरानै सिस्टममा चलाउँदा महिनाको ८ देखि १० लाखसम्म बिजुलीको बिल तिर्न पर्ने भएकोले खर्च धान्न नै धौधौ परेकोले अब यस भवनमा एफएम चलाउनको लागि अध्ययन भइरहेको बताउनुभयो । 

अनुगमन कार्यक्रममा मन्त्रालयको सचिव राधिका अर्यालको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button