तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको पकहामैनपुरमा आगलागी, दुई घर जलेर नष्ट, लाखौँको क्षति

बीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्रहामा आज बिहान आगलागी हुँदा दुई घर जलेर नष्ट हुनुका साथै १४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान करिब पौने ५ बजे रामाशंकर गिरीको गोठमा विद्युत् सर्ट भई आगलागी भएको र आगलागीबाट गिरीको फुसको गोठ र बसोबास गर्ने घर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहनालगायत गरी करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो ।

आगलागीमा गिरीको एक भैँसी जलेर घाइते भएको छ भने पाडोसमेत जलेको जनाइएको छ ।

त्यसैगरी, आगलागीबाट सोही स्थानका दरोगा गिरीको फुसको गोठ र घरसमेत पूर्ण रूपमा जलेर नष्ट भएको छ । उनका घरमा रहेको धान, गहुँ, काठ, भाँडाकुँडा तथा गरगहना जलेर नष्ट हुँदा करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

आगलागीपछि दुवै परिवार हाल छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा बिहान साढे ७ बजेतिर नियन्त्रणमा लिइएको थियो । 

घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button