तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: बजेटमाथि सामान्य छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ । 

बैठकमा सांसद गोपाल भट्टराईले यस वर्षको बजेटले दलित र उत्पीडित समुदायको परम्परागत पेसा र समावेशी चिकित्सा शिक्षामा नयाँ व्यवस्था मिलाएको हुँदा बजेटलाई नेपाली जनताले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

त्यस्तै सांसद मायाप्रसाद शर्माले सरकारको बजेट १६ औँ पाँच वर्षीय योजनाले तयार गरेका योजना कार्यान्वयनका सन्दर्भमा निराशाजनक रहेको बताउनुभयो ।

बैठकमा सांसद बामदेव गौतमले सरकारले सामूहिक उत्पादन र सामूहिक स्वामित्वसहितको समाजवादोन्मुख बजेट छुट्याउन नसकेको विचार व्यक्त गर्नुभयो । 

सांसद किरण बाबु श्रेष्ठले सरकारले ल्याएको बजेट महत्त्वकांक्षी नभएर, नेपालको समसामयिक आर्थिक चुनौतीलाई सामना गर्ने गरी आएको बताउनुभयो । 

त्यसैगरी, सांसदहरु शेखरकुमार सिंह, मदनकुमारी शाह गरिमा, सुमित्रा बिसी, पूजा चौधरीलगायतले बजेटले व्यवस्था गरेका कार्यान्वयनमा जोड दिनुभयो । 

यसअघि बैठकको शून्य र आकस्मिक समयमा सांसदहरुले सरकारले बढ्दो महँगी नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने, धार्मिक पर्यटन विकासमा सरकारले योजना बनाउनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक जेठ २३ गते शुक्रबार दिउँसो १ः०० बजेर १५ मिनेटमा बस्नेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button