कार्यदलद्वारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालित योजनाहरूको अनुगमन
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई नयाँ फेजमा सञ्चालनका लागी गठन गरिएको कार्यदलले कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर परियोजनाद्वारा सञ्चालित योजनाहरूको फिल्ड अनुगमन गरेको छ ।

१० वर्षै सो परियोजना अहिले अन्तिम वर्षमा सञ्चालन भइरहेको अवस्थामा विगत ९ वर्षमा परियोजना मार्फत सम्पादन भएका कार्यक्रमलाई परिमार्जन गर्दै यसलाई नयाँ फेजमा र नयाँ ढङ्गबाट सञ्चालन गर्ने उद्देश्यले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कार्यदल गठन गरेको हो ।
कार्यदलले परियोजना सञ्चालन भएका विभिन्न जिल्लाहरूको फिल्ड अनुगमन गर्दै नयाँ फेजका लागि थप कार्यक्रम बनाउन परियोजनाद्वारा सञ्चालित कार्यक्रममा आवद्ध कृषक तथा कृषक सहकारी समूह, प्रशोधनकर्ता, बिक्री वितरण तथा मूल्य श्रृखंलामा आवद्ध सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै राय सुझाव सङ्कलन गरेको छ ।

अध्ययन टोलीले, विगत तिन दिनमा झापा, मोरङ, सुनसरी तथा धनकुटा जिल्लामा परियोजना मार्फत सञ्चालन हुँदै आएका कृषिमा आधारित उद्योग, तथा जोन तथा सुपर जोन जस्ता कार्यक्रमहरूको स्थलगत अध्ययन अनुगमन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोजकुमार यादवले बताउनुभयो ।
नेपाल सरकारको यो वर्षको नीति तथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई आगामी वर्षदेखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको रुपमा परिमार्जन गर्ने गर्ने उल्लेख भए अनुसार अनुसार विभिन्न जिल्लामा पुगेर कार्यदलले काम गर्दै आएको कार्यदलका सदस्य एवं पशुसेवा विभाग अन्तर्गत राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन विभागका सह–सचिव चन्द्र ढकालले बताउनुभयो ।
झापाबाट अनुगमन शुरु गरेको कार्यदलको टोलीले आज धनकुटा जिल्लाको परियोजनामा आवद्ध योजनाहरूको अध्ययन अवलोकन गरेको परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख यादवले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्