तपाईँ सुन्दै हुनुहुन्छः

दुर्व्यसनी रोक्न युवाहरूको सक्रियता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका युवाहरू दुर्व्यसनी रोक्न लागिपरेका छन् । 

‘आजको युवा, नशा विरुद्धको योद्धा’ भन्ने नारा सहित उनीहरू दुर्व्यसनी मुक्त समाज निर्माण गर्ने अभियानमा लागेका हुन । उनीहरुलाई चौदण्डीगढी नगरपालिकाले उक्त अभियान सफल बनाउन आर्थिक सहयोग गरेको छ । 

चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा उनीहरूले सप्ताहव्यापी लागु औषध दुर्व्यसन विरुद्धको सचेतनामुलक अभियान सम्पन्न गरेका हुन । 

जिल्लाकै बेलका नगरपालिका ४ लालबजारमा रहेको सूर्योदय सुधार केन्द्रको समन्वयमा चौदण्डीगढी नगरपालिकाका १३ वटा विद्यालयमा लागु औषध दुर्व्यसन विरुद्धको सचेतनामुलक अभियान सञ्चालन गरिएको बेल्टार क्लिन एण्ड ग्रीन सिटिका युवा विदुर राईले जानकारी दिनुभयो ।

साताव्यापी विद्यालय स्तरीय अभियान सोमबार एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको थियो । चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित ज्योति माध्यमिक विद्यालयमा नगर प्रमुख कालुमान लामाले अभियानको समापन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले चौदण्डीगढी नगरपालिकाले लागु औषध दुर्व्यसनको मुख्य समस्यालाई जरैदेखि समाधान गर्न तथा लागुऔषध दुर्व्यसनका कारण परिवार र समाजमा आउनसक्ने समस्याहरूको पहिचान गर्न विद्यालय स्तरबाटै कार्यक्रम शुरु गरेको बताउनुभयो । मेयर लामाले लागुऔषधको कुलतमा फस्नुभन्दा आफूसँग भएको क्षमताको पहिचान गरेर त्यसलाई उजागर गर्न आग्रह गर्दै नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लागुऔषध सेवन गरि सुधार केन्द्रमा उपचार गरेर फर्किएका वडा नम्बर ९ ज्यामिरेका हरि कुमार ढकालले आफ्नो अनुभव विद्यार्थी र उपस्थित युवा माझ प्रस्तुत गर्नुभएको थियो । 

गत जेठ ११ गते देखी शुरु भएको अभियान अन्तर्गत नगरको १३ वटा विद्यालयका झण्डै १३ सय विद्यार्थी माझ पुगेर लागु औषधको विषयमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको सूर्योदय सुधार केन्द्रका अध्यक्ष रोशन राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button