राष्ट्रिय सभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको आकस्मिक र शून्य समयमा सांसदहरु गङ्गाकुमारी वेलवासे, गोपी अछामी, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट, सुमित्रा बिसी र तुलसाकुमारी दाहालले हिजोदेखि यातायात क्षेत्रमा भएको हडतालले देश अस्तव्यस्त बनेको र सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै तत्काल यातायात व्यवसायीसँग वार्ता गरी सार्वजनिक यातायात सुचारु गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले नेपाल छुवाछुतमुक्त राष्ट्र घोषण भएको दुई दशक पूरा भएता पनि जातीय विभेद कायमै रहेकाले छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दिन जेठ २१ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गर्नुभयो ।
सांसदहरुले तराई मधेशका बस्तीहरूमा वर्षायाम लागेसँगै डुबान सुरु भएकाले जोखिमपूर्ण बस्तीहरू तत्काल सुरक्षित ठाउँमा सार्नुपर्ने, जोखिममा रहेका अन्य स्थानका बस्तीहरूको पहिचान गरी वर्षाको बाढी पहिरोबाट जनधनको क्षति हुन रोक्नुपर्ने र कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेकाले समयमै रोकथामका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकको विशेष समयमा नेकपा एमाले सांसद तुलसाकुमारी दाहालले जनताको जीवनस्तर माथि उकास्ने गरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधिमा पहुँच पुर्याउने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रतिपक्षले लगाएको आरोप राजनीति प्रतिशोध मात्रै भएको बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीको छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा एकीकृत समाजवादी पार्टीका सांसद उदयबहादुर बोहोराले पुँजी बजार नियमन निकायका प्रमुखले नै कमिसन माग्दै हिँडेको भनी आएकोप्रति छानविन गर्न सकारसँग माग गर्नुभयो ।
त्यस्तै जनता समाजवादी पार्टीका सांसद मोहम्द खालिदले गत वर्षको तुलनामा सडक विस्तार, पर्यटक आगमनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा सकारात्मक सुधार आएको भन्दै मुलुकको विकास र जनताको समृद्धिका लागि सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरु विष्णुबहादुर विश्वकर्मा, किरणबाबु श्रेष्ठ, सुरेशकुमार आलेमगर र गोपाल भट्टराइले पछिल्लो संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध निरङ्कुशतन्त्र ठिक हो भन्ने भाष्य निर्माण गरिन खोजिएको भन्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनी गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक जेठ २१ गते भोलि बुधबार दिउसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्