पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो ।
“हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहण मार्गमा आवश्यक पूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो “अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।”

प्रधानमन्त्री ओलीले म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताउनुभयो । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उहाँले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो “मौरिसले लेखेको अन्नपूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।”

सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गर्नुभएको हो । हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्