तपाईँ सुन्दै हुनुहुन्छः

निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति

काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरले निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाएका छन् ।

यातायात व्यवसायी तथा मजदुरले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकामा आपत्ति जनाएका हुन् । यातायात व्यवसायी तथा मजदुरले सोमबारदेखि सवारीसाधन थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताउनुभयो । प्रदेश सरकार र सङ्घ सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको उहाँको भनाइ थियो । 

आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले ऐक्यबद्धता जनाएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button