तपाईँ सुन्दै हुनुहुन्छः

गिडिदह जाने प्रवेशद्वार फूलचौल्या पाटनमा होमस्टे निर्माण

जुम्ला । कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित गिडिदहको जाने प्रवेशद्वार फूलचौल्या पाटनमा सुविधायुक्त होमस्टे निर्माण गरिएको छ । कर्णाली राजमार्गबाट पैदल यात्रा गरेर पहिलो रातको बास बस्न पुगिने फूलचौल्या पाटनमा प्रदेश सरकारको १५ लाख लगानीमा सुविधायुक्त होमस्टे निर्माण गरिएको हो । 

यस अघि गिडिदह पुग्ने छोटो पदमार्ग,गिडिदहमा धर्मशाला,खानेपानी,शौचालय,ठाउँ ठाउँमा अभिलेख तथा प्रचार प्रसार,सडक लगायतका पूर्वाधार निर्माण भएका छन् ।  

कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख लागतमा फूलचौल्यामा होमस्टे निर्माण गरिएको तातोपानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष अमर बहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘विगतमा फूलचौल्यामा बस्ने ठाउँ नहुँदा गएका पर्यटकहरू अलपत्र पर्थे । पाटनमा वर्षा भई रहने भएकोले ओत लाग्ने ठाउँ सम्म थिएन् । बाटो नपुगेको पैदल हिँडेर जाँदा पहिलो दिनको साँझ फूलचौल्या पुगिने भएकोले पर्यटकको सहजताका लागि व्यवस्थित होमस्टे निर्माण गरेका हौ ।’

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पछिल्लो समय गिडिदहमा समूह बनाएर घुम्न जानेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा होमस्टे निर्माण हुनले पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने विश्वास गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पालिकाको अगुवाईमा मिडियाकर्मीको सहयोगले गुमनाम गिडिदह विश्वभर चर्चित बन्यो । त्यहाँ सम्म पर्यटक पुर्‍याउन हामीलाई पूर्वाधारकै चिन्ता छ । आधारभूत पूर्वाधार बन्दै छ । अब फूलचौल्या सम्म पनि सडक बन्ने क्रममा छ । गिडिदहमा पर्यटकको आगमन बढाउन हामी लागि परेका छौ ।’

निर्माण सम्पन्न भएको होमस्टेको संयुक्त अनुगमन गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरत बढ्थापाले बताउनुभयो । उहाँका अनुसार धर्मशालाले स्थानीय पर्यटनलाई प्रोत्साहन गर्नुका साथै पर्यटकहरूलाई सुविधा सम्पन्न बसाइँमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । 

समुन्द्री सतहदेखि ३४ सय ८५ मिटर उचाइमा अवस्थित तालको गहिराई ४२.३ मिटर, लम्बाइ एक हजार पाँच सय १० मिटर छ । ठुलो तालको लम्बाइ एक हजार ६० मिटर र चौडाइ तीन सय १० मिटर छ भने गिडिदहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button