तपाईँ सुन्दै हुनुहुन्छः

खोल्साको टिम्मुरबाट आम्दानी

गलेश्वर । म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुर खेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरुवा उमारेर टिम्मुर खेती गरेका छन् भने कतै खोल्साखोल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरुवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् ।

आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ । त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा रू तीन सयदेखि पाँच सय र सुकाएको रू एक हजार पाँच सयदेखि रू दुई हजारसम्म बिक्री हुने गर्दछ ।

यस्तो बहुउपयोगी टिम्मुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिम्मुर खेती सुरु गरेका हुन् । पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल बिक्री गरेर वार्षिक रू दुई लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् । 

जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुर खेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका— ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिक रूपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुर विज्ञ चन्द्रमणि सापकोटाले टिम्मुर खेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।

टिम्मुर खेतीको व्यावसायिक उत्पादन गरिरहनुभएका अगुवा कृषक लालबहादुर घर्तीले टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउनुहुन्छ । उहाँले नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा बिक्री गर्दै आउनुभएको छ । टिम्मुर बिक्री गरेर गत वर्ष रू चार लाख ८६ हजार आम्दानी गर्नुभएका घर्तीले यसवर्ष टिम्मुर खेती विस्तार गरेको बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न सुरु हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ । 

म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button