नवलपरासीमा ७ सयभन्दा बढी भूमिहीनका लागि आवास निर्माण हुने
नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीमा ७ सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास निर्माण गरिने भएको छ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरद्वारा सञ्चालित ‘भूमिहीन नागरिकका लागि आवास निर्माण’ कार्यक्रमअन्तर्गत प्रत्येक परिवारलाई एक कठ्ठा जग्गासहित तयार घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको छ।
थारु मिलन केन्द्र नेपालका पूर्वअध्यक्ष तथा उपदान कलेक्सन सेन्टरका सदस्य राधेश्याम चौधरीका अनुसार झण्डै ३० वर्षदेखि भूमिहीन अवस्थामा रहेका परिवारहरूलाई लक्षित गरी कार्यक्रम अगाडि बढाइएको हो। एक घर निर्माणमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रमअन्तर्गत बर्दघाट, रामग्राम, सुनवल नगरपालिकासहित सुस्ता, पाल्हीनन्दन, प्रतापपुर र सरावल गाउँपालिकाका ७१७ घरपरिवारलाई आवास उपलब्ध गराउने लक्ष्य छ।
थारु मिलन केन्द्र नेपाल लेखा अधिकृत अञ्जली चौधरीका अनुसार घर निर्माणका लागि जिल्लाका सातवटै पालिकामा आवेदन आह्वान गरिएको छ। जग्गा खरिद गरी व्यवस्थित बस्तीको रूपमा एउटै स्थानमा घर निर्माण गरिने योजना छ।
संस्थाकी सदस्य आशा चौधरीका अनुसार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक प्रारम्भिक प्रक्रिया अघि बढाइएको छ।
यसै सन्दर्भमा बर्दघाट–१२, जहवामा आयोजना गरिएको छलफल कार्यक्रममा थारु मिलन केन्द्र नेपालका अध्यक्ष देवनन्द सिंह फैजदारको अध्यक्षता रहेको थियो। कार्यक्रममा वडाध्यक्ष उमाशंकर चौधरी, दीपकुमार चौधरी, गिरीश चौधरी, सुरज केसी, मुरलीकृष्णलगायतले यो कार्यले भूमिहीनहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरले यसअघि पनि कैलाली र बर्दिया जिल्लामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्