सातौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइयो
काठमाडौँ । महिला अधिकारको सम्मान: आत्म निर्भरता हाम्रो अभियान भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको समारोहमा मन्त्रालयका मन्त्री नवल किशोर शाह सुडीले जबसम्म आर्थिक अधिकारले महिलाहरू सम्पन्न हुँदैनन् तबसम्म महिलामाथि हिंसा र विभेद कायम रहने हुँदा अबका दिनहरूमा महिलासम्बन्धी नीति तथा कार्यक्रम बदल्नुपर्नेमा जोड दिनुभयो ।

संविधानले प्रदान गरेको महिला अधिकारको भरपुर उपयोग गर्दै सबै महिलाहरूलाई आयआर्जनमा लागि आत्मनिर्भर बन्न मन्त्री शाहले आग्रह गर्नुभयो । समारोहमा संसद्को महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले महिलाका सन्दर्भमा बनेका ऐन कानून कार्यान्वयनमा जोड दिनुभयो ।
त्यस्तै मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले संविधानले प्रत्याभूत गरेको महिलाका हक अधिकार कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउनुभयो । यस अवसरमा मन्त्रालयले सातै प्रदेशमा उद्यमशीलतामा क्रियाशील महिलाहरूलाई उत्कृष्ट महिला उद्यमी सम्मान प्रदान गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्