तपाईँ सुन्दै हुनुहुन्छः

मृगौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका शेर्पा मन्त्री पौडेलद्वारा सम्मानित

काठमाडौँ ।  मृगौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नुभएका सोलुखुम्बुका पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले शेर्पाको अद्वितीय साहसको प्रशंसा गर्दै उहाँलाई अङ्ग प्रत्यारोपण प्रवर्द्धन दूतका रूपमा नियुक्त गर्ने घोषणा समेत गर्नुभयो । मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि अंगदान प्रक्रिया अझ सहज बनाउन सरकार प्रयासरत रहेको बताउनुहुँदै अङ्ग अभावमा धेरैले ज्यान गुमाइरहेकोले शेर्पाको उदाहरणले जनचेतना फैलाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

साथै, उहाँले सगरमाथा आरोहणजस्ता जोखिमपूर्ण कार्यमा संलग्न भरियाहरूको स्वास्थ्य बीमाका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।कीर्तिमानी आरोही शेर्पाले मृगौला प्रत्यारोपणपश्चात् पुनः जीवन पाएको अनुभव सुनाउँदै आफूले ज्यानको बाजी राखेर प्रत्यारोपण गराइएको अस्पतालसँगको वाचा पूरा गरेको बताउनुभयो ।

वैदेशिक रोजगारीका क्रममा मृगौला फेल भएका शेर्पाले तीन वर्षअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button