चितुवा नियन्त्रण लिन हात्ती परिचालन

गुलरिया(बर्दिया) । गुलरिया नगरपालिका वडा ५ बालापुरमा बुधबार बिहान बालिकालाई आक्रमण गरी मार्ने चितुवा खोज्नका लागि हात्ती परिचालन गरिएको छ ।
बुधबारदेखि नै चितुवाको बासस्थान पत्ता लगाउनका लागि पाँच वटा क्यामेरा राखिएको छ । त्यसैगरी डार्ट गन सहित बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकसहितको प्राविधिक टोली खटिएको छ । चितुवालाई समात्नका लागि बाख्रा राखेर दुई बेटा पासो समेत राखिएको छ । तर पनि चितुवालाई नियन्त्रणमा लिन नसकेपछि आज बिहान देखि दुई वटा हात्ती परिचालन गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वारा कार्यालयका प्रमुख अजितराज तुम्बाहाम्फेले चितुवा नियन्त्रणमा लिनका रातदिन प्रयास गरिरहेको बताउनुभयो । प्राविधिक टोली राती १२ः०० बजेसम्म मचान बनाएर बसे पनि चितुवा फेला नपरेको भन्नुहुँदै उहाँले जङ्गलमा चितुवा खोज्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्ती समेत परिचालन गरिएको बताउनुभयो ।

चितुवाको आक्रमणबाट ७ बर्षिया सायरा थारूको मृत्यु भएपछि चितुवा नियन्त्रण लिनुपर्ने माग गर्दै बालापुरबासीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । चितुवालाई नियन्त्रणमा लिने सहमति भए पश्चात् चितुवाको खोजी गर्न प्राविधिकसहितको टोली खटिएको हो ।
पछिल्लो समय बर्दियाको सदरमुकाम गुलरियामा चितुवाको बिगबिगी बढ्दै गएको छ । गत बैशाख १५ गते गुलरिया नगरपालिका वडा ५ मा रहेको सर्यु सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ९ बर्षिया मेलिना खड्काको मृत्यु भएको थियो ।
वन कार्यालय बर्दियाका अनुसार गत मङ्सिर यता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्