तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा १२ जना प्रेस स्वतन्त्रता सेनानीहरू सम्मानित

oplus_2

जनकपुरधाम । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकारहरूलाई सम्मानित गरेको छ ।

मधेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरिइएको शुभकामना तथा अभिनन्द कार्यक्रममा उहाँहरूलाई दोसल्ला ओढाएर कदरपत्र एवं नगद सहित सम्मान गरेको हो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले संयुक्त रुपमा उहाँहरूलाई सम्मानपत्र सहित सम्मानित गर्नु भएको हो । 

यसरी सम्मानित हुनु हुनेमा सप्तरीका वैद्यनाथ झा, प्रकाश खतिवडा, देवनारायण यादव, धनुषाका अकोश रौनियार, रामभरत साह रहनु भएको छ । सम्मानित हुने अन्य प्रेस स्वतन्त्रता सेनानीहरूमा महोत्तरीका विन्देश्वरी मण्डल, कुमरकान्त झा, गोपाल बराल, ईश्वरी प्रसाद काफ्ले रहनु भएको छ । गणतन्त्र दिवसमा सम्मानित हुने अन्य प्रेस स्वतन्त्रता सेनानीहरूमा गयाँ यादव, शत्रुधन नेपाल र शैलेन्द्र गुप्ता रहनु भएको छ । 

जनताको अधिकार प्राप्तिका लागि भएको विभिन्न लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान दिनु भएका मधेश प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरूलाई प्रदेश सरकारले पहिलो पटक सम्मानित गरेको हो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सशित कुमार सिंहले विश्वका सबैभन्दा उत्कृष्ट व्यवस्थाको रुपमा गणतान्त्रिक व्यवस्था रहेकाले गणतन्त्रको विकल्पमा अरू कुनै तन्त्र हुनै नसक्ने बताउनु भयो । 

उहाँले गणतन्त्रका कारणले आम गरिब नेपाली जनताको छोरो मुलुकको सर्वोच्च पदहरूमा पुगेको बताउँदै राजतन्त्रमा त्यो कहिल्यै सम्भव नभएको बताउनु भयो । 

मुख्यमन्त्री सिंहले गणतन्त्रमा कसैले गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने काम जनताले नै गर्ने बताउँदै गणतन्त्रको छोटो अवधिमा मधेश प्रदेशको गाउँ गाउँमा विकासको लहर आएको दाबी गर्नु भयो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले सङ्घीयता तथा समावेशिताको एजेण्डालाई सबै भन्दा बढी उजागर गर्ने प्रेस स्वतन्त्रता सेनानीहरूलाई गणतन्त्र दिवसमा सम्मानित गर्न पाएकोमा आफू खुशी भएको बताउँदै यो अभियान निरन्तर रुपमा जारी रहने बताउनु भयो । 

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गणतन्त्रका कारणले नै मुलुकका विभिन्न क्षेत्र, वर्ग तथा भूगोलमा बसोबास गर्ने नागरिकहरूले मुलुकको सर्वोच्च पदमा पुगेको र पुग्ने क्रममा भएको बताउनु भयो । 

मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताउँदै अरू कुनै तन्त्र हुन नसक्ने बताउनु भयो । 

वन तथा वातावरणमन्त्री संजय कुमार यादवले गणतन्त्रको विकल्पमा नौलो गणतन्त्र हुन सक्ने बताउँदै तर जनताले फलिसकेको राजतन्त्र हुनै नसक्ने बताउनु भयो । 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित प्रकाश खतिवडा, मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साह, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो र मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमन प्रसाद बरालले बोल्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button