पदक विजेता खेलाडीलाई पुरस्कार

काठमाडौँ । सरकारले विभिन्न खेलका ८१ वटा अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने ५६ खेलाडी तथा प्रशिक्षकलाई रु दुई करोड २२ लाख ७७ हजार पुरस्कार उपलब्ध गराएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा उक्त रकम उपलब्ध गराएको उल्लेख गरिएको छ ।
आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म राष्ट्रियस्तरका ४९ र अन्तरराष्ट्रियस्तरका १३ गरी ६२ प्रतियोगिता आयोजना गरिएको उल्लेख छ ।
त्यसैगरी, ७६ अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा नेपालले भाग लिएको थियो । गत आर्थिक वर्षमा राष्ट्रियस्तरका ७० तथा अन्तरराष्ट्रियस्तरका ३५ खेलकुद प्रतियोगिता आयोजना भएका थिए ।
प्रत्येक प्रदेशमा एक/एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरूप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्