चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने

काठमाडौँ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर नौ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४४३ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्ष एक हजार ४९६ अमेरिकी डलर पुग्ने अनुमान छ ।
त्यसैगरी प्रतिव्यक्ति राष्ट्रिय आय र खर्चयोग्य आय दुवै क्रमशः बढ्दै गएको र चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा तीन दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान सरकारले गरेको छ ।
आर्थिक सर्वेक्षणमा भनिएको छ, “गत आर्थिक वर्ष यस्तो आय चार दशमलव एक प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो आय एक हजार ४६७ अमेरिकी डलर रहेको थियो । त्यसैगरी, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्च योग्य आय एक हजार ८६४ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष यस्तो आय अमेरिकी डलर एक हजार ९४० पुग्ने अनुमान छ ।”
प्रतिक्रिया राख्नुहोस्