तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण अभावले ओझेलमा छेडेदह ताल

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा न-४ र ७ को बीचमा रहेको सुप्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल छेडेदह ताल लामो समय देखि संरक्षण र संवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको छ। 

पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रुपमा रहेको उक्त तालमा आवश्यक पूर्वाधारहरू तयार नहुँदा यसको अस्तित्व समेत सङ्कटमा पर्ने खतरा बढेको हो ।

मुटु आकारको ताल भएका कारण लभ तालका रुपमा समेत चिनिने छेडेदह ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सहजरुपमा पुग्न सकिने स्थल भए पनि पछिल्लो समय संरक्षण तथा प्रचार प्रसारका लागि कुनै पहल नभए पछि यसको पर्यटकीय महत्व दिन प्रतिदिन घट्दै गएको छ ।  तालको वरिपरि उचित घेरबार ,  अन्य भौतिक पूर्वाधारहरू निर्माण नहुँदा यो ताल नै कुनै दिन पुरिन सक्ने आशङ्का गरिन थालिएको छ। समयमै यसको संरक्षण हुन नसके तालको वरिपरि खनिएको सडकका कारण पानी चुहिएर ताल नै सुक्न सक्ने सम्भावना रहेको हो।

 खप्तड छेडेदह गाउँपालिका –३ का स्थानीय दिपक डिसिका अनुसार तालमा आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायसँग समन्वय गरिएको भएपनि कतैबाट सहयोग नमिलेका कारण यसको संरक्षणमा चुनौती थपिएको छ । पछिल्लो समय विभिन्न निकायहरू बाट तालको अवलोकन,भ्रमण र घुम्नका लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको भए पनि यसको बिकास र संरक्षणमा सरोकारवालाले ध्यान नदिँदा ओझेलमा पर्दै गएको स्थानीयको बुझाइ छ। खप्तड घुम्न आउने पर्यटकहरूका लागि अवलोकन नगरी  नहुने गन्तव्यका रुपमा समेत रहेको छेडेदह ताल पर्यटकीय हिसाबले मात्र नभइ मार्मिक हिसाबले पनि महत्त्वपूर्ण र व्यापक रहेको छ।

छेडेदह क्षेत्रको विकास गरि पर्यटन प्रवर्द्धन र प्रचार-प्रसार गर्न सके स्थानीयको आर्थिक जीवन स्तरमा समेत वृद्धि गर्न सकिने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button