केही नेपाल ऐन संशोधन गर्ने विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको दिगो र समावेशी सहरीकरणका लागि खाका तयार गरिएको बताउनुभयो ।
बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री सिंहले आधुनिक र व्यवस्थित शहर निर्माणका लागि एकीकृत शहरी विकासको योजनालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
मन्त्री सिंहले गाउँ र शहरवीचको खाडल कम गर्न ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने र नयाँ शहर आयोजना अन्तर्गत मध्यपहाडी क्षेत्रमा पर्ने १० वटा सहरलाई नयाँ शहरका रुपमा विकास गर्ने कार्य अघि बढाइएको पनि बताउनुभयो ।
मन्त्री सिंहले नेपालका प्रमुख सहरहरूलाई स्मार्ट सिटीका रुपमा विकास गर्न यसका मापदण्डहरू तयार गरिएको, प्रत्येक स्थानीय तहमा एक शहरी केन्द्र विकास गर्ने योजना अघि बढाइएको र पुराना सहरहरूको आधुनिकरणमा ध्यान दिइएको बताउनुभयो ।
यस्तै, बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै भूमिसम्बन्धी समस्या समाधान गर्न नयाँ भूमि व्यवस्था सम्बन्धी कानुन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले बजार तथा राजमार्ग किनारका बस्तीहरूमा जमिन व्यवस्थापन गर्न वैकल्पिक जमिन अभाव रहेको र धेरै स्थानका जग्गाधनी स्पष्ट नहुँदा दोहोरो स्वामित्वको अवस्था सिर्जना हुनाले कानुनी अड्चनहरु रहेको पनि बताउनुभयो ।
यस्तै,वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै नेपालमा बाह्य मिचाहा प्रजातिको गम्भीर सङ्कटमा परेको बताउनुभएको छ ।
बन मन्त्री शाहीले बाहिरी मिचाहा प्रजातिहरू देशको विभिन्न भूभागमा तीव्र रूपमा फैलिँदै गएकोले वैज्ञानिक प्रविधिको प्रयोगमार्फत यस्ता प्रजातिलाई प्रवेश गर्न नदिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै मन्त्री शाहीले बन डढेलो नियन्त्रणलाई अझ बढी व्यवस्थित गर्ने नीति लिइएको पनि जानकारी गराउनुभयो ।
यस, राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्ट्राचार मौलाउँदै गएको र भिजिट भिजाजस्ता प्रकरणमा उच्चस्तरीय व्यत्तित्वहरुको संलग्नताको प्रश्न उठ्नुले मुलुकको नै छवि कमजोर हँुदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
यस्तै, सांसदहरुले भिजिट भिजा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेको भन्दै सत्यतथ्य छानबिनका लागि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत राख्नुभयो ।
राजनीतिक दलहरूले सडक प्रदर्शन गर्दै शक्ति प्रदर्शन गर्ने प्रवृत्तिले मात्रै लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै सांसदहरुले राजनीतिक दलहरूमा व्यवहारिक अनुशासन र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले जनताको भावना अनुरुप बजेट ल्याइनुपर्ने भन्दै किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिइनुपर्ने, विपदमा हुने भौतिक तथा मानवीय क्षतिलाई न्युनिकरण गर्न उचित प्रतिकार्य तथा बासस्थानको व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरु रुक्मिणी कोइराला, झक्कुप्रसाद सुवेदी, कमला पन्त, राजेन्द्र लक्ष्मी गैरे, मिर्गेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह, विष्णुकुमारी सापकोटा, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा विसीले धारणा राख्नुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक भोली जेठ १५ गते बिहीबार १ः०० बजेर ४५ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्