तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । 

उहाँहरुबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराउनुभयो ।

उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरूको साझा हितका विषयमा सहकार्य गर्न जोड दिनुभयो ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button