तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका–युरोपेली सङ्घ व्यापार वार्तामा सकारात्मक सङ्केत

ब्रुसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिनु भएपछि दुई पक्षबिचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ ।

आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डेर लायनबिच भएको टेलिफोन वार्तापछि आगामी जुलाई ९ भित्र निष्कर्षमा पुग्ने लक्ष्य राखिएको जानकारी प्राप्त भएको छ ।

वार्ताको वर्तमान अवस्था

अमेरिकाले अघिल्लो चरणमा युरोपेली सङ्घका विभिन्न वस्तुहरूमा उच्च भन्सार शुल्क लगाइसकेको छ, जसमा सवारी साधन, फलाम, पित्तल लगायतका सामग्रीहरू छन् । हाल केही शुल्कहरू वार्ताका कारण अस्थायी रूपमा रोकिएका छन् । यद्यपि युरोपेली वस्तुहरू अझै १० प्रतिशतको भन्सार महसुलअन्तर्गत परिरहेका छन् ।

युरोपेली सङ्घका तर्फबाट व्यापार आयुक्त मरोस सेफ्चोभिक वार्तालाई सक्रिय रूपमा अगाडि बढाइरहनु भएको छ । अमेरिकाका वाणिज्य सचिव होवार्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग उहाँको निरन्तर सम्पर्क भइरहेको छ ।

अमेरिकाको अपेक्षा

राष्ट्रपति ट्रम्पले अमेरिका–युरोपबिचको व्यापार घाटा घटाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । उहाँले युरोपेली देशहरूले अमेरिकी ऊर्जा सामग्रीको खरिदमा वृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो । साथै, उहाँले केही कर प्रणाली र गैरभन्सार अडचनहरूबारे पनि छलफल अघि सार्नुभएको छ, जसमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने प्रस्ताव पनि समावेश रहेको जनाइएको छ । यस्ता प्रस्तावहरूमध्ये केही युरोपेली पक्षका लागि कठिन रहेको बुझिएको छ ।

युरोपेली सङ्घको दृष्टिकोण

युरोपेली सङ्घले व्यापारमा सहकार्य र समझदारी कायम राख्दै आर्थिक स्थायित्व सुनिश्चित गर्न चाहेको जनाएको छ । यसका लागि उसले दुई पक्षीय भन्सार छुटको प्रस्ताव अघि सारेको छ, जसमा औद्योगिक उत्पादनहरू समेत समावेश छन् ।

युरोपेली सङ्घले चीनसँग सम्बन्धित व्यापारिक चुनौतीहरूबारे संयुक्त पहल गर्न सकिने सम्भावनाबारे पनि सङ्केत गरेको छ, यद्यपि प्रत्यक्ष रूपमा चीनको नाम उल्लेख गरिएको छैन ।

यदि वार्ता सकारात्मक रूपमा अघि बढ्न सकेन भने युरोपेली सङ्घले करिब १३६ अर्ब अमेरिकी डलर बराबरका वस्तुहरूमा शुल्क लगाउने विकल्पको समेत विचार गरिरहेको छ । साथै, केही प्रमुख प्रविधि कम्पनीहरूमाथि समेत नियमन कडा पार्न सकिने बताइएको छ ।

युरोपेली आयोगका अध्यक्ष फोन डेर लायनले आइतबारको वार्तापछि वार्तालाई स्पष्ट र निर्णायक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी महिनामा क्यानडामा हुने सात राष्ट्र समूहको सम्मेलनमा राष्ट्रपति ट्रम्प र अध्यक्ष डेर लायनबीच प्रत्यक्ष भेट हुने सम्भावना रहेको छ, जसबाट व्यापार वार्ता थप सुदृढ हुने आशा गरिएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button