तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता बलियो बनाउन प्रहरी र निजामती कर्मचारी समायोजन शीघ्र हुनुपर्छ: मुख्यमन्त्री सिंह 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सङ्घीयता बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनको काम चाँडो हुनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ । 

मुख्यमन्त्री सिंहले राष्ट्रिय सभामा मधेश प्रदेशबाट निर्वाचित हुनु भएका  सदस्यहरुले आज जनकपुरधाममा आयोजना गर्नु भएको सङ्घीयता सबलीकरण सम्बन्धि प्रदेश सभा सदस्यहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । 

उहाँले कर्मचारीहरूले साथ नदिएको कारणले विकास बजेट अपेक्षा अनुसारको खर्च नभएको बताउँदै मधेश प्रदेशमा समायोजन भएका कर्मचारी मध्येका ११ औँ तहका अधिकृतलाई सचिवमा र पालिकाहरूमा जाने प्रमुख प्रशासकीय अधिकृतहरूको खटन पटनको काम प्रदेश सरकार मातहत दिनु पर्ने धारणा राख्नु भयो । 

उहाँले वर्तमान प्रधानमन्त्री केपी ओली ज्यूले प्रदेशमा खट्ने सबै सचिवहरूलाई एक मुष्ट रुपमा मुख्यमन्त्री कार्यालयमा पठाए जस्तै मधेशका पालिकामा जाने प्रमुख प्रशासकीय अधिकृतहरूलाई पनि मुख्यमन्त्री कार्यालयमा पठाएपछि मात्र विकासले गति लिएर सङ्घीयता बलियो हुने बताउनु भयो । 

मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा रासायनिक मल, बिउँ विजन बढी आवश्यक भएपनि मधेशमा मलको कोटा कम भएको बताउँदै प्रदेशलाई दिने बजेट जनसङ्ख्याको आधारमा हुनु पर्ने तर्क गर्नु भयो । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सङ्घीयतालाई बलियो बनाउनका लागि संघीय प्रहरी तथा निजामती ऐन चाँडो भन्दा चाँडो ल्याउनका लागि माग गर्नु भयो । 

उहाँले मधेश प्रदेशमा जनसङ्ख्या बढी भएपनि बजेट सो अनुसार नभएको बताउँदै आकस्मिक कोष प्रदेश सरकारमा रहने संवैधानिक व्यवस्था भएपनि प्रदेश सरकारसँग वित्तीय व्यवस्थापनका लागि अधिकार नभएको बताउनु भयो ।   

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य आनन्द प्रसाद ढुङ्गानाले जनताको निक्कै ठूलो आन्दोलनको बलमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि प्रदेशलाई बलियो बनाउनुको कुनै विकल्प नभएको बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय सभामा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका राष्ट्रिय सभाका सदस्यहरु उर्मिला अर्याल, तुलसा कुमारी दहाल, पूँजा चौधरी, मोहम्मद खालिद, राधेश्याम पासवान र शेखर कुमार सिंह सहभागी रहनु भएको थियो । यसका साथै प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरु सहभागी सो कार्यक्रममा सहभागी रहनु भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button