तपाईँ सुन्दै हुनुहुन्छः

१२ वर्षीया प्रदीप्ताको ‘डेड अर अलाइभ’ उपन्यास सार्वजनिक

काठमाडौँ I १२ वर्षीया प्रदीप्ता बडूले अङ्ग्रेजी भाषामा  लेख्नुभएको ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ ।

भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच  उक्त कृतिको विमोचन गर्नुभएको हो । 

पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा अध्ययनरत बडूको उक्त उपन्यास आवरण प्रकाशनले प्रकाशित गरेको हो । सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो । सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रतिष्ठाले कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको र उहाँमा प्रतिभाको प्रवाह प्रचुर रहेको बताउनुभयो । 

बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले देशका कुनाकुनामा रहेका बाल प्रतिभाको खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेले उपन्यासमा साहसिक यात्रा, मानवीय समवेदना र स्वैरकल्पनाको सुन्दर मिश्रण रहेको बताउनुभयो ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले प्रतिष्ठामा अद्वितीय लेखन कलाको क्षमता रहेको विचार राख्दै उहाँलाई प्रकाशकका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

क्याप्टेन वेद उप्रेतीले प्रतिष्ठा सुन्दर सुदूरपश्चिमबाट फक्रेकी बालप्रतिभा भएको बताउनुभयो । कृतिकारका पिता कैलाश बडूले छोरी सानैदेखि भावुक स्वभावकी र आँटेको कुरा गरेरै छाड्ने आँटिली भएको बताउनुभयो ।

पाठशाला नेपाल फाउन्डेशनका संस्थापक इश्वरमणि अधिकारीले आफ्नो विद्यालयमा प्रतिष्ठाजस्ता बाल प्रतिभा हुनुले विद्यालयको गरिमा बढाएको विचार राख्नुभयो ।

साहित्यकार जया बुढाथोकीले उपन्यास निकै पठनीय भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक विश्वनाथ कँडेलले प्रतिष्ठा अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभयो ।

उपन्यासकार प्रतिष्ठा बडूले आफ्नो लेखकीय अनुभूति सुनाउँदै पहिलो कृति बुबा कैलाशको जन्मदिनमै उपहार दिन पाएकामा गौरवको अनुभूति मिलेको बताउनुभयो ।

साहित्यकार एवं कृतिकारकी हजुरआमा हेमन्ती जोशीले नातिनीले आफ्नै पदचिन्ह पच्छ्याउँदै साहित्यिक यात्रा सुरु गरेकामा खुशी व्यक्त गर्नुभयो । बीस खण्डमा विभक्त उक्त उपन्यासमा अक्रिनको कलाकारिता रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button