दश महिनामा १३ हजार बढी पर्यटक रारा पुगे
मुगु। नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न १० महिनाको अवधिमा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्।

गत साउनदेखि बैशाख मसान्तसम्म आन्तरिक र विदेशी पर्यटकहरू गरी जम्मा १३ हजार १४ जना पर्यटकले रारा भ्रमण गरेका हुन्।
रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार यो वर्ष गत वर्षको तुलनामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ।
उनका अनुसार सो अवधिमा १२ हजार ७६१ जना आन्तरिक पर्यटक, ४५ जना सार्क मुलुकका पर्यटक र २०८ जना अन्य विदेशी पर्यटक रारा पुगेका थिए।
गत वर्षभन्दा अझै बढी पर्यटक पुग्ने अनुमान
आर्थिक वर्ष २०८०/८१ मा कुल १७ हजार २९७ जना पर्यटक रारा पुगेका थिए। तर यो वर्ष बैशाख मसान्तसम्ममै १३ हजार बढी पर्यटक पुगेकाले असार मसान्तसम्म यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको वरिष्ठ संरक्षण अधिकृत न्यौपानेले जानकारी दिनुभयो।
४४ लाखभन्दा बढी राजस्व सङ्कलन
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जेठ ५ गतेसम्म विभिन्न शीर्षकमा गरी ४४ लाख ९१ हजार ८१२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यसमा मात्र पर्यटन शुल्कबाट ३१ लाख २७ हजार रुपैयाँ उठेको छ, जसमा डुङ्गा सवारी शुल्क पनि समावेश गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।
रारा भ्रमण गर्ने पर्यटकहरूमध्ये आन्तरिक पर्यटकले प्रति व्यक्ति १,००० रुपैयाँ, सार्क राष्ट्रका नागरिकले १,५०० रुपैयाँ र अन्य विदेशी पर्यटकले ३,००० रुपैयाँ पर्यटन शुल्क तिर्नुपर्ने व्यवस्था छ।
अविकसित सडक पर्यटकीय विकासको बाधक
रारा पुग्ने कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक अझै पनि जोखिमयुक्त र अविकसित अवस्थामा छन्।
रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलका अनुसार, सडक मापदण्डअनुसार स्तरोन्नति गरिएमा पर्यटकको सङ्ख्या कैयौँ गुणा बढ्न सक्नेछ।
उहाँ भन्नुहुन्छ, ‘सडक साँघुरो छ, सेप्टिकवाल, नाला छैनन्, सिङ्गल लेनको सडक हो। पानी परेमा हिलाम्य र घाम लागेमा धुलाम्य हुन्छ। भिरालो र जोखिमपूर्ण सडक भएकाले यात्रुहरू ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य छन्।’
रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ। यसले पर्यटकहरूको बसाइ छोटो बनाउने मात्र होइन, पर्यटन विकासमा अवरोध पनि पुर्याइरहेको छ।
त्यसैले रारालाई पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न रारा ‘विकास प्राधिकरण’ गठन गरी समग्र पूर्वाधार विकासमा राज्यले गम्भीर पहल गर्नुपर्ने आवश्यकता देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्