तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा आज वट सावित्री पर्व धूमधामका साथ मनाइँदै

सर्लाही। श्रीमानको दीर्घायु तथा सुख(समृद्धिको कामनासहित आज सर्लाही जिल्लासहित सम्पूर्ण मधेस प्रदेशमा वट सावित्री पर्व श्रद्धा र भव्यताका साथ मनाइएको छ।

बिहानैदेखि सर्लाहीको लालबन्दी, मलंगवा, बयलबास, चन्द्रनगर, गोडैता लगायतका स्थानका महिलाहरू व्रत बस्दै वरको रूखमुनि पूजापाठमा जुटेका छन्। हिन्दू धार्मिक विश्वासअनुसार ब्रह्मा, विष्णु र महेशको बास हुने वरको रूख पूजन गरी व्रती महिलाहरूले बाँसको हातेपंखा, प्रसाद र पूजा सामग्रीसहित उपवास गर्दै पतिको दीर्घायुको कामना गरेका छन्। महिलाहरू नववस्त्रमा सजिएर बिहानैदेखि धार्मिक कर्ममा सहभागी भएका थिए।

पौराणिक कथनअनुसार सत्ययुगमा सावित्रीले आफ्नो मृत पति सत्यवानलाई यमराजबाट फर्काएर ल्याएकी थिइन्। त्यसैको स्मरणमा प्रत्येक वर्ष ज्येष्ठ अमावस्याको दिन वट सावित्री पर्व मनाउने गरिन्छ। भविष्य पुराणअनुसार यो पर्व श्रद्धा, नियम र निष्ठाका साथ मनाएमा पतिको दीर्घायु हुने यमराजले वरदान दिएको उल्लेख गरिएको छ।

बर्तालु अनिता साहका अनुसार पर्वले महिलाहरूमा धार्मिक आस्था मात्र नभई सांस्कृतिक एकताको भावना समेत जागृत गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button