तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिका कर्णालीकै पहिलो बालविवाह मुक्त घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीयमध्ये हिमा गाउँ पालिका पहिलो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा भएको हो ।

आइतबार एक भव्य समारोहका बीच नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीद्वारा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा भएको हो ।

घोषणापछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले सन् २०३० भन्दा अघि सात प्रदेशमध्ये कर्णाली प्रदेशलाई पहिलो बाल विवाहमुक्त घोषणा प्रदेश बनाउने गरि काम गर्नु पर्ने बताउनुभयो ।

दुर्गम हिमाको सामाजिक तथा भौतिक विकासका लागि आफ्नो मन्त्रालय र वर्तमान सरकारले भरपुर सहयोग गर्ने उल्लेख गर्नुभयो । 

मन्त्री साहले भन्नुभयो,अब कर्णाली प्रदेश पछाडि पर्दैन । कर्णालीलाई पछि पार्न खोजेपनि हामी चुप बस्दैनौ ।  सन २०२३ सम्म नेपाल लाई नै बालविवाह मुक्त घोषणा गर्ने सरकारको रणनीति अनुसार कर्णालीबाट हिमा पहिलो बन्नु गौरबको विषय हो । सुगमका जिल्लामा अझै पनि बालविवाह कायम छ । तर दुर्गमको हिमा गाउँपालिका कर्णालीकै पहिलो र देशको दोस्रो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा हुनु दुर्गममा चेतना विस्तार भएको उदाहरण हो ।

सङ्घीयतापछि सामाजिक तथा भौतिक विकासले फड्को मारेको भन्दै अधिकांश पालिकाले भौतिक विकासलाई मात्र प्राथमिकता दिएको अवस्थामा हिमाले बालविवाह जस्तो सामाजिक कुरीति अन्त्य गरेर सामाजिक विकासमा गरेको काम प्रशंसनीय रहेको मन्त्री सुडीले उल्लेख गर्नुभयो।

बालविवाहकै कारण ठुलो सङ्ख्यामा बालबालिका शिक्षा,स्वास्थ्य,रोजगार लगायतका अवसरबाट वञ्चित हुनुका साथै स्वास्थ्यमा समेत असर परेको छ । कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू वर्षौँदेखि लागि परेको र अब आफ्नो कार्यकालमा पनि देखिने गरी काम गर्ने उल्लेख गर्नुभयो । 

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमाले भौतिक विकाससँगै सामाजिक विकासमा समेत नमुना बनेको बताए । खानेपानी विकासमा पनि कर्णालीकै नमुना बनेको हिमा सामाजिक विकृतिका रुपमा रहेको बालविवाह शुन्यमा झार्न समेत सफल भएको बताउनुभयो । 

सीमित स्रोत साधनका बीच पनि समाजका व्याप्त रुपमा रहेका बालविवाहले पारेको असरलाई मध्यनजर गर्दै विभिन्न  चुनौतीका बीच बालविवाह मुक्त पालिका बनाउन सफल भएको उहाँको भनाई छ । 

तीन वर्षको अवधिमा हिमाका सात वटै वडाका सबै बस्तीमा पुगेर सचेतीकरण कार्यक्रम गरेका थियौ । उनले भने, हाम्रो समाजमा गरिबी, देखासिकी, सामाजिक सञ्जालको दुरुपयोगले बालविवाह बढेको छ । 

हामी आएपछि त्यस्ता घरपरिवारलाई पहिचान गरि उत्पादनसँग जोड्ने कार्यक्रम सञ्चालन गर्‍यौ । घरधुरी सर्वेक्षण गर्‍यौ । दुई वर्षको अवधिमा  करिब डेढ सय जोडीले विवाह गरेको,ती सबै २० वर्ष माथिका रहेको सुनिश्चित भएपछि जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्न सफल भएका हौ । पालिकाको बजेटमा सामाजिक विकासलाई विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो । 

महिला तथा बालबालिका शाखा प्रमुख राज्य लक्ष्मी रावलले बालविवाह मुक्त पालिका घोषणा अघि गरेको,सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार अनुसार हिमाका सातै वडामा गरिएका बिहे गर्ने जोडीहरू सबैले २० वर्ष पूरा गरेको भेटिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button