तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौली पर्व 

भोजपुर । किराँत समुदायको महान् पर्व साकेला उभौली विधिवतरूपमा समापन गरिएको छ । 

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा साकेला उभौली पर्व समापन गरिएको हो ।

शनिबार आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा उल्लेखनीय सहभागिता रहेको थियो ।  साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् । 

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका किराँत समुदायमा गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा बिधिवत पूजाआजा गरेपछि उभौली पर्व सुरु हुन्छ भने साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ । अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि साकेला उधौली पर्व मनाउने गरिएको किराँत राई यायोख्खा भोजपुरका कार्यवाहक अध्यक्ष बिदुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम राख्न पनि यस्ता पर्वहरू महत्वपूर्ण मानिन्छन् ।” 

साकेला भोजपुरसहित खोटाङ, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाउने गरिन्छ । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला सिलिले आपसमा सामूहिक भावनाको समेत प्रदर्शन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button