१०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निर्माणका लागि रु.२ करोड २९ लाख संकलन

भक्तपुर । चाँगुनारायण नगरपालिका–८, कलमसीमा निर्माणाधीन १०८ फिट अग्लो कल्पेश्वर महादेवको अधूरो मूर्ति लगायतका संरचना निर्माण पुरा गर्न रु २ करोड २९ लाख २० हजार ३५० रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।
शिव पुराण महायज्ञ आयोजक समितिले गत बैशाख २ गतेदेखि १३ गतेसम्म आयोजना गरिएको शिवपुराण ज्ञान महायज्ञमा दाताहरूबाट सङ्कलित आय–व्यय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले उक्त आम्दानी र खर्च सार्वजनिक गरेको हो ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर मन्दिर निर्माण परिसरमा गत आयोजना गरिएको महायज्ञमा कूल आम्दानी मध्येबाट २८ लाख ४६ हजार ५०२ रुपैयाँ महायज्ञ सञ्चालनमा खर्च भएको समितिका कोषाध्यक्ष एवं लेखा संयोजक नारायणी फुँयालले बताउनुभयो ।
कार्यक्रममा चानपा–८ का वडाध्यक्ष एवं महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक जनक खत्रीले महायज्ञमा भएको सम्पूर्ण खर्च कटाएर कूल २ करोड ७३ हजार ८४८ रुपैयाँ रकम बचत भएको बताउनुभयो । उहाँले महायज्ञको खर्चमा दाताहरूको दिएको दानबाट एक रुपैयाँ पनि खर्च नगरी मल आयोजक समितिमा रहेका १३ सय सदस्यबाट संकलन गरिएको रकमबाट खर्च गरिएको बताउनुभयो ।
उहाँले एशियाकै अग्लो शिव मूर्ति र आसपासमा बनाइने धार्मिक संरचनाका लागि डिपिआरमा केही संशोधन हुने जानकारी दिँदै करिब ८० रोपनी क्षेत्रफलमा १०८ फिट अग्लो बसेको शिवमूर्ति निर्माणको सुरुवात भइसकेको र त्यो शिवमूर्तिलाई वरिपरि १०० शिवलिङ्गले घेरिने बताउनुभयो ।
मन्दिर परिसरमै २७ नक्षत्रसहितको वाटिका, नवग्रहलगायत अन्य देवीदेवताका मूर्ति र संरचना निर्माण गर्ने बताउँदै यहाँ वृद्धाश्रम निर्माणको कार्य सामाजिक विकास मन्त्रालयको रु. २५ लाखको सहयोगमा सुरु भइसकेको जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले तीन तहकै सरकारको सहयोगमा यो आयोजना २०८२ भित्रै सम्पन्न गरेर २०८३ मा पर्यटकको आगमन गराइने बताउँदै उपत्यका विकास प्राधिकरणले गतवर्ष एक करोड ५० लाख र यसवर्ष पनि एक करोड ५० लाखको बजेट यहाँको लागि व्यवस्थापन गरेको बताउनुभयो ।
यसवर्ष शहरी विकास मन्त्रालयबाट पाँच करोड रुपैयाँ रकम आउने मन्त्रालयले जानकारी गराएको बताउँदै उहाँले २०८२ साल भरि सञ्चालन हुने भ्रमण वर्ष भित्रै यो आयोजनाका मूल कार्य सम्पन्न गर्नेगरि काम अगाडि बढाउनु पर्ने बताउनुभयो । त्यसका लागि नगरपालिकाले समेत बजेटको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
काभ्रेको बनेपा नगरपालिका–१ सिमानासमेत रहेको कलमसी कालिका–कल्पेश्वर धाम नामले चिनिने यस क्षेत्रलाई एशियाकै अग्लो शिव मन्दिर बनाउन शिव तान्त्रिक (बुद्धिकुमार खड्गी) को परिकल्पना र लगानीमा सात वर्ष अगाडि नै संरचना एवं मूर्ति निर्माण सुरु गरेपनि अधुरो योजनाहरू पुरा गर्न नगरपालिका र स्थानीयले अग्रसरता लिएको हो ।
आफूले कल्पना गरेको कुरा पुरा गर्ने भएकोले सो महादेवलाई कल्पेश्वर महादेव भनिएको धार्मिक विश्वास रहँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्