प्रतापपुरका शिक्षकलाई साङ्केतिक भाषा तालिम
बर्दघाट।साङ्केतिक भाषाको माध्यमबाट शिक्षण कार्यलाई प्रभावकारी बनाउन पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका शिक्षकहरूलाई साङ्केतिक भाषा तालिम सञ्चालन गरिएको छ ।
प्रतापपुरको बेलाटारीस्थित बहिरा विद्यार्थी स्रोत कक्षा सञ्चालन गरिरहेको त्रिभुवन माविमा बुधबारदेखि शुरु भएको पन्ध्र दिने उक्त तालिममा पालिकाका विभिन्न ११ विद्यालयका शिक्षकसहित १५ जनाको सहभागिता छ ।
युनाइटेड मिसन टु नेपाल(यूएमएन) र सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा सञ्चालित अपाङ्गता समावेशी विकास परियोजनाको सहयोग र प्रतापपुर गाउँपालिकाको आयोजनामा साङ्केतिक भाषा प्रशिक्षण सञ्चालन गरिएको हो ।
सुस्त श्रवण भएका बालबालिकालाई शिक्षण गर्न शिक्षकलाई सहज बनाउने उद्देश्यले उक्त प्रशिक्षण सञ्चालन गरिएको अपाङ्गता समावेशी विकास परियोजनाका संयोजक श्याम सुन्दर ढुङ्गानाले जानकारी दिनुभयो ।
“बुझ्न पाउने सबै नागरिकको अधिकार हो”, उहाँले भन्नुभयो, “स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले पढ्न सक्ने वातावरणका लागि शिक्षकहरूमा साङ्केतिक भाषाको ज्ञान हुनु जरुरी छ, त्यस कारणले पनि यो तालिम फलदायी हुने विश्वास लिएका छौँ ।”
साङ्केतिक भाषाको ज्ञान नहुँदा बहिरा विद्यार्थीले व्यक्त गर्न खोजेको कुरा शिक्षकले नबुझ्ने र शिक्षकले पनि बुझाउन नसक्दा विद्यार्थीहरूलाई पढाइप्रति रुचि घट्ने भएकोले शिक्षकहरूलाई साङ्केतिक भाषा सिकाउन खोजिएको यूएमएनका परियोजना म्यानेजर अर्जुन तामाङ्गले बताउनुभयो ।“विद्यार्थीले भनेको शिक्षकले बुझ्ने र शिक्षकले पनि विद्यार्थीलाई बुझाउन सक्ने भएमा बहिरा विद्यार्थीले पनि अन्य विद्यार्थी सरह सँगै अध्ययन गर्न सक्ने र विद्यालय छोड्नुपर्ने बाध्यताको अन्त्य हुन्छ, यस्तो खुशी ल्याउन शिक्षक दक्ष हुनुपर्छ”, उहाँले भन्नुभयो ।
पन्ध्र दिनसम्म सञ्चालन हुने उक्त तालिममा साङ्केतिक भाषाकी विज्ञ यशोदा थापाले प्रशिक्षण दिनुहुने सुनवल सामुदायिक विकास केन्द्रकी समावेशी तथा पुनःस्थापना संयोजक राधा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा शिक्षकसँगै अपाङ्गता प्रवद्र्धन समितिबाट दुई जना,स्वावलम्बन समूहबाट एक जना तथा गाउँपालिकाको महिला तथा बालबालिका शाखाबाट एक जना कर्मचारीको पनि सहभागिता छ ।
प्रतापपुर गाउँपालिकाको बेलाटारीस्थित त्रिभुवन माविमा सञ्चालित बहिरा विद्यार्थी स्रोत कक्षा गाउँपालिकाको एकमात्र र जिल्लाकै पुरानो स्रोत कक्षा हो । पश्चिम नवलपरासीमा हाल बहिरा विद्यार्थीका लागि दुई वटा विद्यालयमा स्रोत कक्षा सञ्चालन छ ।
बहिरा विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा पालिकामै एकमात्र र त्यहाँ पनि ५ सम्म मात्र अध्ययन अध्यापन हुने गरेको त्रिभुवन माविका प्रधानाध्यापक नारद ठाकुरले जानकारी दिनुभयो ।
हाल उक्त स्रोत कक्षामा ५ जना विद्यार्थी अध्ययनरत छन् ।“शिक्षकलाई साङ्केतिक भाषाको ज्ञान भएमा स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले सहजै शिक्षा हासिल गर्न सक्छन्”, उहाँले भन्नुभयो । साङ्केतिक भाषाबाट पढाइ नहुने भएकोले यस क्षेत्रमा अधिकांश बहिरा विद्यार्थीले कक्षा ५ पछि पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको अभिभावक बताउँछन् ।
विगत तीन वर्षदेखि जिल्लाको प्रतापपुर र पाल्हीनन्दनमा सञ्चालनमा रहेको अपाङ्गता समावेशी विकास परियोजनाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारको आयआर्जन,सीप अभिवृद्धि तथा जीविकोपार्जनको क्षेत्रमा सहयोग गर्नुका साथै क्षमता विकास र संरक्षणका लागि काम गर्दै आएको परियोजनाका संयोजक ढुङ्गानाले बताउनुभयो ।
परियोजनाले उनीहरूको हक अधिकार सुनिश्चितता लागि पैरवी गर्ने, अपाङ्गता मैत्री नीति निर्माणमा स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्ने तथा अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउन समेत पहल गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्