राष्ट्रिय सभाबाट ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको विधेयक सैद्धान्तिक छलफलपछि सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पाण्डेले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा जीवन्त छलफल गरेर विधेयकलाई समृद्ध बनाउन आफूले सहयोग गर्ने बताउनुभयो ।
उहाँले पद्धति र प्रणालीलाई बलियो बनाउने दिशामा विधेयक उन्मुख हुनुपर्ने र त्यसतर्फ काम गर्ने, सुशासन कायम गर्ने, प्रभावकारी संरचना कनाउने र पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन कार्यान्वयनमा जाने गरी विधेयकलाई अगाडी बढाउने बताउनुभयो ।
छलफलमा सांसदहरुले बदलिँदो परिस्थिति अनुसार समयानुकूल कानुन बनाएर पर्यटन क्षेत्रको विकास विस्तार एवं प्रवर्द्धन गरी नेपाललाई आकर्षित, सुरक्षित र भरपर्दो पर्यटन स्थलका रुपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।
सांसदहरुले पर्यटन क्षेत्रलाई पारदर्शी, प्राकृतिक र संस्कृतिक बस्तुको संरक्षणमा विशेष ध्यान दिइनु सकारात्मक रहेको भन्दै पर्यटन क्षेत्रलाई सुरक्षित, दिगो र उत्तरदायी बनाउने कुरालाई कानुनले निर्दिष्ट गर्नुपर्ने बताउनुभयो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्यटन विधेयक, २०८१ माथि संशोधन हाल्न चाहने संसदहरुले संघीय संसद् सचिवालय राष्ट्रियसभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नुभयो ।
यसैगरी राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते बुधवार सवा १ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्